
लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वाटर फाइनलमा पुगेको छ। सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय ४-४ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।
निर्धारित समयमा फ्रिकिकसहित दुई गोल गरेका मेसीले पेनाल्टीसुटआउटमा पनि टिमका लागि पहिलो गोल गरे ।सुटआउटमा मियामीका लागि मेसीसहित सर्जियो बुस्केट, लियोनार्दो काम्पाना, कमल मिल्लर र बेन्जामिन क्रेमासीले गोल गरे ।
खेलमा सुरुवाती अग्रता मेस्सीले छैटौँ मिनेटमा दिलाएका थिए तर त्यसपछि लगातार तीन गोल गर्दै डालास ३-१ गोलले अगाडि बढेको थियो।
मियामीले ६५ औँ मिनेटमा गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्याएको थियो तर ६८ औँ मिनेटमा इन्टर मियामीबाट आत्मघाती गोल भएपछि डालास फेरी ४-२ गोलले अगाडि बढ्यो।
डालासका खेलाडीबाट ८० औँ मिनेटमा आत्मघाती गोल भएको थियो। मेस्सीले ८५ औँ मिनेटमा शानदार फ्रिकिक गोल गरेर खेललाई ४-४ को स्थितिमा पुर्याएका थिए।