
नेपाली क्रिकेट टीम एसिया कप क्रिकेटका लागि भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई आज बिदाइ गर्दैछ । आउँदो १३ गतेबाट एसिया कप सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो ।
नेपाल र पाकिस्तान एसिया कपको उद्घाटन खेलमा भिड्दैछन् ।नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् ।
१७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको हो । गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।
अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् ।
निकट स्रोतका अनुसार उनले एसिया कप खेल्ने/नखेल्ने दुई–तीन दिनमा निधो हुने छ । क्यानले भने उनी जसरी पनि एसिया कप खेल्न जानुपर्नेमा जोड लगाइरहेको छ ।
आज नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन् । सन्दीप भने गएका थिएनन् ।