
विदेशी भलिबल प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । हान एबिङ तेस्रो पटक नेपाल आएका हुन् । यसअघि उनले एभिसी सेन्ट्रल जोनमा दुई पटक नेपाली पुरुष टिमको प्रशिक्षक भएर काम गरेका थिए ।
नेपाल भलिबल संघले १९ औं एसियन गेम्समा नेपाली भलिबल टोलीको प्रशिक्षकको रुपमा रहेका नेदरल्याण्ड्सका प्रशिक्षक हान शुक्रबार काठमाडौं आइपुगेको जनाएको छ ।
राष्ट्रिय टिमका प्रशिक्षक जगदिश भट्ट र राष्ट्रिय पुरुष टिमका ट्रेनर रुपेश विष्टले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भलिबल संघले हान अबिङले एसियन गेम्सपछि श्रीलंकामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा पनि नेपाली पुरुष टिमको प्रशिक्षण सम्हाल्ने जनाएको छ ।
नेपालको पुरुष टिमले लगातार दोस्रो पटक एसियन गेम्स खेल्न लागेको हो भने महिला टिमले पहिलो पटक एसियन गेम्स खेल्दैछ । यस पटक नेपाली टिमको कप्तान भने मान बहादुर श्रेष्ठ छन् ।
यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा हुने १९ औं एसियन गेम्समा हान एबिङ नेपालको पुरुष टिमको प्रशिक्षकको भूमिकामा छन् तर उनको अनुपस्थितिमा अर्का बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र जगदिश भट्ट, भरत यादवले पुरुष टिमलाई प्रशिक्षण दिइरहेका छन् ।