NRN
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता सुरू भएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा स्थानीय समयअनुसार बिहान ११ बजे भेटवार्ता सुरू भएको हो। साे द्विपक्षीय भेटवार्तामा नेपाली र चिनियाँ अधिकारी पनि सहभागी छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई त्यसअघि ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले प्रधानमन्त्री दाहाललाई आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

दुईजनाबीच नेपाल-चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ। भेटमा बीआरआईसम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधिलगायतका विषयमा छलफल भएको छ ।

चिनियाँ अनुदानमा परियोजना निर्माण, नेपालमा लगानी, सीमा जोड्ने सडक विस्तार, प्रविधि, औद्योगिक पार्क निर्माणलगायत पनि छलफलका एजेण्डा छन् । चीनमा हिल्सा, अरनिको राजमार्ग, ट्रान्समिशन लाइन, कृषि क्षेत्रको प्रस्तावसमेत रहनेछ। उक्त छलफलपछि केही सहमतिपत्रमा दुवै देशका अधिकारीहरूबीच हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ ।

यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update