
नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गरेका छन् ।
आइतबार प्रधान कार्यालयमा निरीक्षण गर्दै लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।
‘प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ । र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला । कानूनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु । परेको चुनौती पनि व्यहोर्छु,’ उनले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस् ।’
‘कुनै कर्मचारी सरुवा-बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ। त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, गर्नेछु,’ उनले भने, ‘म कुनै व्यक्ति विशेषको सरूवा-बढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन। केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आएको हुँ। त्यसमा तपाईंहरूको सहयोग मिल्नेछ भन्ने ठानेको छु।’
उनले आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन पनि अनुरोध गरे । निर्धक्क भएर आफ्नो अधिकारको प्रयोग गर्न र आफूले हस्तक्षेप नगर्ने पनि बताए । तर अन्य व्यक्तिहरूले नै संगठन चलाउने अवस्था आएमा भने आफूले हस्तक्षेप गर्ने बताए ।
त्यसैगरी, ३० वर्षे सेवा अवधिबारे आफू क्लियर भएको र प्रहरी समायोजन पनि टुंगोमा पुर्याउने उनको भनाइ थियो । यसबारे गृहकार्य र सरोकारवालासँग छलफल गर्नुपर्ने उनले बताए ।