
नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ ।
सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।
साउदी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । साउदीले अब मंगलबार कतार र बुधबार नेपालसँग खेल्ने छ ।
ओमान र यूएईबीच आज खेल हुँदैछ । यी दुई टोलीबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ । प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ ।