-1725960219.jpeg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले नाराबाजी गरेका छन् ।
मंगलबार दिउँसो पोखराको विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले नाराबाजी गरेका हुन् ।
लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नाराबाजी र कालो झण्डा देखाएर प्रदर्शन गरिरहेका छन् ।
सभापति लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा पीडितले पूरक जाहेरी दिएका थिए ।
पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा पनि लामिछानेले ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियाको नाममा लामिछानेले एक करोड रुपैयाँ ऋण लिएर उक्त ऋण तिरेको देखाएको छ ।
लामिछाने प्रबन्ध निर्देशक एवं सेयर सदस्य रहेको टेलिभिजनमा पोखराको सुर्यदर्शन लगायत देशका विभिन्न सहकारीमा सर्वसाधारणले राखेको बचत लगानी गरेका थिए । सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ ।