NRN
बारामा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ

बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । 

गएको ३२ जेठमा आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो ।

घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । त्यसबेलादेखि फरार पूर्व सेनाका जवानसमेत रहेका मुख्य अभियुक्त ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त घटनामा प्रयोग भएको पेस्तोल २ थान, गोली ७ राउण्ड, मोटरसाइकल चार थान, मोबाइल चार थान, ल्यापटप २ थान र सिमकार्ड ७ थान बरामद भएको प्रहरीले जनाएको छ ।

मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।  पक्राउ परेका कुशवाहालाई बिहीबार बिहान ९ बजे पत्रकार सम्मेलन सम्मेलन गरि सार्वजनिक गरेको हो ।

सुरेन्द्र घटना पश्चात् फरार रहेर भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । प्रहरीको अनुसन्धानमा हत्याका मुख्य अभियुक्त सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको खुलेको थियो ।

अनुसन्धानको क्रममा चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी पक्राउ परेका थिए ।

तीमध्ये राधेश कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने अरु ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update