
काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विभिन्न एपको प्रयोग गरी सट्टेबाजी गरिरहेको थाहा पाएपछि उनीहरूलाई प्रहरीले कीर्तिपुरबाट नियन्त्रणमा लिएको हाे । पक्राउ पर्नेमा भारतको विहारका सन्जयकुमार सिंह, रोहित शर्मा र प्रिंशु सिंह छन् ।
अहिले एनपिएलमा सट्टेबाजी तथा बेटिङ जस्ता आपराधिक क्रियाकलाप हुने भन्दै सिआइबीले कीर्तिपुरमा प्रहरी परिचालन गरेको थियो ।
त्यसक्रममा प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । यसअघि भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार पक्राउ परेका थिए ।
उनीहरूले स्पोर्ट्स बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपमार्फत कारोबार गरेको फेला परेको थियो ।