
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उपविदेशमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओली गत आइतबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत थिए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री, ली छ्याङ, चिनियाँ राष्ट्रिय जनकाँग्रेस (संसद्का) अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणको तेस्रो दिन दुई देशबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपतिसँगको भेटका क्रममा राष्ट्रपति सीले नेपाललाई ५ सय मिलियन आरएमबी (करिब नौ अर्ब) अनुदान सहयोग घोषणा गरेका थिए ।