
नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार दिनको पहिलो खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेकाे हाे ।
चितवनको भने यो पहिलो हार हो । यसअघि चितवनले लगातार दुई खेलमा जित निकाल्दा कर्णालीले सुरुवाती दुई खेल गुमाएको थियो।
चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए ।
देव २४ र वाल्टन ३० रनमा आउट भएका थिए । जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए ।
अन्तिम ओभरमा कर्णालीलाई जीतका लागि ९ रन आवश्यक थियो । क्रिजमा थिए मक्सुद र अर्जुन । सुरुवाती ३ बलमा अर्जुनले लगातार २ रन लिँदै जीतका लागि आवश्यक रन र बल बराबर गरेका थिए ।
चौथो बलमा अर्जुन रन आउट हुन पुगे । त्यसपछि कर्णालीलाई जीतका लागि २ बलमा ३ रन आवश्यक थियो । अन्तिम ओभरको पाँचौं बलमा मक्सुदले चौका हान्दै कर्णालीलाई जीततर्फ दोहोर्याए ।
बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।