NRN
रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत पेस गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ । 

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई पछिल्लोपटक थपिएको हिरासत म्याद सकिएकाले आज अदालत लगेर म्याद थप गर्न लागिएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौँपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रुपमपा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौं, बुटवल र चितवनमा रहेका सहकारी ठगीमा पनि संलग्न रहेको आरोपमा बयानका लागि लगिएको थियो ।

लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update