NRN
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान गरेका छन् ।

मन्त्री दाहाल ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ मा सहभागिताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका हुन् ।

उनी शनिबार राती ९ बजे मनिला प्रस्थान गरेको मन्त्री दाहालको सचिवालयले जानकारी दिइएको छ । मन्त्री दाहाललाई मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतले विमानस्थलको विशिष्ट कक्षबाट बिदाई गरे ।

उक्त सम्मेलनमा दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरण लगायतका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आ–आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषणसम्वन्धि लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्य तालिका रहेको छ ।

मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी हुनेछन् ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी हुनेछन् ।

कार्यक्रम संयुक्त राष्ट्रसङ्घ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसङ्घ क्षेत्रीय विकास केन्द्र, एसियाली विकास बैङ्क, एसियाली पूर्वाधार लगानी बैङ्क लगायतका निकायहरूको आयोजनामा हुन लागेको हो ।

मङ्सिर २३ देखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कनेछ । 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update