
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार नागरिकतामा उनले पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लागेको थियो ।
प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाशमा हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दा समेत पदमा बहाल नै रहेर ९ महिनादेखि राष्ट्रसेवक पदको दुरूपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको भन्दै उजुरी परेको थियो ।
सिलवालले ०८० साउन १५ गतेदेखि हाल सम्म उनले लिएको लाभ सुविधा रकम छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा जफत/असुल उपर हुनुपर्ने आरोप-पत्रमा माग दाबी गरिएको छ ।
अख्तियारले उनीमाथि अनुसन्धान गर्दा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०३२ फागुन २४ गते नेपाली नागरिकता लिएको खुलेको हो ।
अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ अनुसार एक वर्षदेखि दुई वर्षसम्म कैद सजाय र ५० देखि एक लाखसम्म जरिवाना र दफा १६ (१) अनुसार कसुरको मात्रा अनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवानाको माग गरेको छ ।
त्यसैगरी उनलाई दफा २४ संवैधानिक अंग वा निकायका पदाधिकारी रहेको कसुरमा थप तीन वर्षसम्मको कैद पनि माग अख्तियारले गरेको छ ।