
एसिसी महिला यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुने वुमन्स एसिया कपको लागि सोमबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीको उप-कप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।
महिला यू-१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ । समूह बी मा रहेको नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।
गत कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।
सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो ।