NRN
प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा.सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याल लगायतको उपस्थिति रहेको थियो ।

शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताएका थिए ।

मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

आयोगका अघिल्ला पदाधिकारीको कार्यकाल यही मंसिर २३ गतेदेखि सकिएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update