NRN
कर्णालीसँग लुम्बिनी लायन्स ५ रनले पराजित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले महत्त्वपूर्ण खेल जितेको छ । आज (शुक्रबार) त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको हो ।

कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए । सन्दीप जोराले २१ बलमा २४ रन जोडे । उनले २ छक्का प्रहार गरे । 

ओपनर अशुतोष घिरैयाले २१ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे । अर्का ओपनर अर्जुन साउदले ६ बलमा १३ रन जोडे । उनले ३ चौका हिर्काए ।

कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाएर पभेलियन फर्किए । उनले २ चौका प्रहार गरे । साद बिन जाफर ११ बलमा १६ रन बनाएर रन आउट भए ।

कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । ३ ओभरमा उनले मात्र १२ रन खर्चिए । सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो ।

लिगमा शुक्रबार नै चितवन राइनोज र विराटनगर किङ्सबीच खेल भइरहेको छ ।

लुम्बिनी लायन्सको भने यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । टोलीले आफ्ना ७ खेलमा १ खेल मात्र जित्न सक्यो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update