NRN
प्रधानमन्त्री ओली भन्छन्, नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल—चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।

नवौं नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई शुक्रबार सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने बताएका हुन् । 

उनले यस्ता सम्मेलनले नेपाल र चीनबिचका मात्रै नभई अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबिचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताए । 

“नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदान प्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरनीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिंगन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौं ।” प्रधानमन्त्री ओलीले भने, “नेपाल र चीनबीच इतिहासदेखि नै अशल मित्रता रही आएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्नेछ भन्ने मैले विश्वाश लिएको छु ।”

प्रधानमन्त्री ओलीले एसियाका ज्योतिको रूपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताए । 

बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए । गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने बताए । उनले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने बताए । 

प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update