NRN
भ्रष्टाचार मुद्दामा दोषी नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ बर्षपछि पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि शुक्रबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो । 

नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख  ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌ गरेको कसुरमा उनी दोषी ठहर भएका थिए । 

उनलाई दुई छुट्टाछुट्टै  मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको छ । उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

२०६८ भदौ ६ मा ऋणी लक्ष्मीप्रसाद आचार्य समेतलाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।

२०७३ कार्तिकमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले सो फैसलालाई सदर गरेका थिए । 

श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिने बताइएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update