
गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट र तस्करी नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
भारतीय सीमासँग जोडिएका लुम्बिनीका तराईका जिल्लाहरूमा व्यापक राजस्व चुहावट र तस्करी भइरहेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्री लेखकले त्यसतर्फ गम्भीर भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
राजस्व असुली र तस्करी नियन्त्रण गर्न परिणाम मुखि नतिजा निकाल्न निर्देशन दिँदै उनले तस्करी नियन्त्रण गर्न नसके साेहि अनुसार मुल्यांकन गरी दण्डित गरिने बताए ।
‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले राजस्व चुहावट भइरहेको सुनिएको छु,’ गृहमन्त्रीले भने,‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’
गृहमन्त्री लेखकले पछिल्लो समय साइबर अपराधका घटना समेत बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए ।
संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताए । जनताको मौलिक हकअधिकारको सुनिश्चितता नै लोकतन्त्रको पूर्व शर्त रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षा खलबलिने बत्तिकै मौलिक हक अधिकार गुम्ने भएकोले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आग्रह गरे ।
उनले कानुनको पालना गर्नु सबैको दायित्व भएकाे बताए ।
मंगलबार दिनभर चल्ने गाेष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका गण र बाहिनी प्रमुखहरूकाे सहभागीता छ ।