NRN
चितवनलाई २१ रनले हराउँदै कर्णाली एनपिएलको दोस्रो क्वालिफायरमा

चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएल सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली क्वालिफायर-२ मा प्रवेश गरेको हो । अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ ।

बुधबार कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।

बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।

कर्णालीका ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे । जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए । चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।

बलिङमा चितवनका सोहेल तन्विरले २ विकेट, रवी बोपारा, शरद भेषवाकर र कुशल मल्लले १-१ विकेट लिन सफल भए ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update