NRN
बालुवाटारमा प्रधानमन्त्री ओलीले गरे एनपीएल विजेता जनकपुर बोल्ट्सलाई सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाई दिएका हुन् ।

शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई विजय हासिल गरेको थियो ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।

आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतीको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको सुनाउँदै उनले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए ।

विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update