
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १३.५३ अंकले घटेर २ हजार ५ सय ८३ दशमलव २९ विन्दुमा बन्द भएको हो ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत कारोबार दिन अर्थात् बिहीबार ४ अर्ब ७६ करोडको सेयर कारोबार भएकोमा आइतबार ४ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २५ करोड रूपैयाँ कमी आएको हो ।
आज ३१९ वटा धितोपत्रको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच भएको हो । आइतबार आजको कारोबारमा ८५ कम्पनीको शेयरमूल्य बढ्दा १५३ को घटेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
तीन कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । जसमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेड रहेका छन् ।
यस्तै, आइतबार रिभर फल्स पावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ ।