
आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका- ३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा यूपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन, ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामद गरिएको कैलाली प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उद्देश्यले सुन तस्करी गरी ल्याइएको खुलेको छ । पक्राउ परेकामध्येका सुमितले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरी कार्यालयले जनाएको छ ।