NRN
माओवादीले माग्यो लेखा समिति सभापतिको पोखरेलको राजीनामा

नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको छ ।

सोमबार (आज) सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले लेखा समिति सभापति पोखरेलको राजीनामा माग गरेका हुन् ।

सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको हो ।

सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन् । त्यसैले माओवादी केन्द्रले लेखा समिति सभापति पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै राजीनामा माग्दै आएको छ ।

यस्तै बैठकमा सांसद मोदीले लेखा समितिको बैठक धेरै समय पछि बसेको भन्दै आक्रोश व्यक्त गरे । सांसद मोदीले सभापति पोखरेलले मार्ग प्रशस्त गरेर चेक एण्ड ब्यालेन्स गर्नुपर्ने बताए ।  

४ पुसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेका थिए । 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update