जालपादेवी केबलकारको परराष्ट्रमन्त्री राणाद्वारा शिलान्यास

कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ ।
परराष्ट्र मन्त्री आरजु राणा देउवाले शनिबार आयोजित कार्यक्रममा जालपादेवी केबलकारको शिलान्यास गरेकी हुन् ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीदेखि कैलालीकै मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म जोड्न ३.१ किमी दुरीको केबलकार निर्माण गर्न लागिएको हो ।
सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासका लागि पूर्वाधार बन्न लागेको भन्दै परराष्ट्र मन्त्री राणाले खुसी व्यक्त गरेकी छन् ।
आइएमई ग्रुपले बनाउने यो केबलकारमा ३४ वटा गोन्डोला हुनेछ । करिब पाँच अर्ब रुपैयाँको लगानीमा यो केबलकार निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा वन मन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत उपस्थित थिए ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ ११:४३
प्रतिक्रिया दिनुहोस्