NRN
श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । 

सांसद गौतमले भट्टराई निवासमा पुगेर देशमा वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल गरेकी हुन् ।सांसद गौतम मंगलबार बिहान आफ्ना श्रीमान गृहेन्द्र घिमिरेलाई लिएर भट्टराई निवासमा पुगेकी थिईन् ।

भेटबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श ।’

माओवादीबाट बाहिरिएपछि नयाँ शक्ति हुँदै मधेशवादी दलमा मिसिएर अहिले नेसपा गठन गरेका बाबुराम देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको बताउँदै आइरहेका छन् ।

उनले पोखरा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि नयाँ शक्तिहरूमाथि सरकारले प्रतिशोध राखेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update