NRN
स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट बर्खास्त गरेका छन् ।

एमबिबिएस डाक्टर पढाउने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको खबर बाहिरिएपछि सभापति पोखरेलले शुक्रबार स्वकीय सचिवलाई निकालेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै पोखरेलले संघीय संसद सचिवालयलाई स्वकीय सचिव बर्खास्त गरेको जानकारी गराएका हुन् ।

'मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको ब्यहोरा अनुरोध गर्दछु ।' 

भ्रष्ट्राचार जन्य क्रियाकलापमा संलग्न जो कोही माथि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको पनि सभापति पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update