
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् ।
बुधबार बिहान अदालतमा हाजिर भएकी कोइरालाको केही समयमा थुनछेक बहस सुरु हुने तयारी छ ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली-२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।
सोही प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन् ।
विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन् ।
यसबीचमा पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन् ।