
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै एकताबद्ध बनेर शान्ति प्रक्रिया टुंगो पुर्याउनुपर्ने बताएका छन् ।
काठमाडौंमा आज शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवालको विषायक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए ।
अहिले पनि संक्रमणकालीन न्यायको विषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको उनको भनाई छ। उनले सडक र सदनबाट दबाब नदिए राज्य र राजनीतिक नेतृत्वलाई अब त बर्बाद भयो भन्ने नबनाएसम्म शान्ति प्रक्रिया टुंगोमा नपुग्ने धारणा राखेका हुन् ।
प्रचण्डले बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने धारणा राखे ।
उनले भने, ‘टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । एउटा प्रवृत्ति नहोस् भन्ने नै छ । अझ गम्भीर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुङ्ग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ त्यसले । माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ ।’
उनले राष्ट्रिय सहमतिमार्फत पीडितको माग सम्बोधन र मुलुकका समस्या समाधान गर्नुपर्ने तर्क गरे ।