NRN
नेपाल बीमा प्राधिकरणद्वारा अध्यक्ष पदका लागि दरखास्त आह्वान

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले पदपूर्तिसम्बन्धी आवेदन खुलाएको छ । 

समितिले शुक्रबार अध्यक्ष नियुक्तिका लागि कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त माग गरेको हो । 

योग्यता भएका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा आवेदन दिन सकिनेछ ।

सूचनाअनुसार बीमा, मौद्रिक, बैंकिङ, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ ।

प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल नागरिकता किर्ते मुद्दाका कारण निलम्बनमा परेका छन् । माघ १९ गतेसम्म कार्यकाल रहेका सिलवाल निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update