
आज (आइतबार) बिहानै जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको छ ।
काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतले जनाएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।