
सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान सुरु भएको हो ।
काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ ।
बिहीबार जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ ।