
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ । यसको अर्थ क्यानले आयोजना गर्ने प्रतियोगितामा लामिछानेलाई एक खेल खेल्नबाट प्रतिबन्ध गरिएको हो ।
सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए ।
सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए । खेलको अम्पायर विनयकुमार झा र हिरालाल राउत थिए ।
जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको भोलिपल्ट उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदम नचालिए गलत निर्णय हुने र खेलाडीहरू पीडित बन्ने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
क्यानका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो । यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन् ।
नियमअनुसार अम्पायरको निर्णय चित्त नबुझे लामिछानेले क्यान र टेक्निकल कमिटीमा अपिल गर्न पाउँछन् ।
क्यानले स्पष्टीकरण सोध्दै एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेपछि सन्दीपले तीन दिनअघि आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए । त्यसपछि कतिपयले उनले संन्यास लिन लागेको भन्नेसमेत अड्कल काटेका थिए ।