NRN
उपेन्द्रले मागे ओली–देउवासँग मधेशको मुख्यमन्त्री

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकार आफ्नो पार्टीको नेतृत्वमा हुनुपर्ने माग गरेका छन् ।

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै छलफल गरेका यादवले मधेस सरकार जसपा नेपालको नेतृत्वमा हुनुपर्ने माग गरेका हुन् ।

मधेस सरकार सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा छ ।

सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधि सभामा सजिलै स्वीकृत हुने भए पनि राष्ट्रिय सभामा सत्ता पक्षलाई जसपा नेपालको साथ चाहिन्छ । जसपा नेपालका ३ जना सांसदहरू राष्ट्रिय सभामा छन् ।

सरकारले ल्याएका अध्यादेश मात्र होइन, भविष्यमा ल्याउने विधेयक पारित गर्न पनि राष्ट्रिय सभामा बहुमत आवश्यक पर्छ ।

राष्ट्रिय सभामा कांग्रेस-एमाले र लोसपाका गरी २८ सांसद छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसद चाहिन्छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ । सरकारलाई समर्थन गरेको दललाई मधेस सरकारमा भए पनि सामेल गर्न कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

जसपा नेपालले अध्यादेशबारे निर्णय लिन नसक्दा प्रतिनिधि सभा र राष्ट्रिय सभामा बिहीबार अध्यादेश पेस गर्ने कार्यसूची नै हटाउन सरकारले आग्रह गरेको थियो ।

कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर बिहीबारका लागि अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update