
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद अशिम शाहले उक्त विषयमा आवाज उठाएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री रोस्ट्रममा आएर ढलेँ ढलेँ गीत सुनाएर जानुहुन्छ । आजकल उहाँ टिकटकरहरूसँग व्यस्त हुनुहुन्छ । यही व्यस्तताका कारण उहाँले एउटा महत्त्वपूर्ण काम मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न बिर्सनुभएको छ ।’
‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन । पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन्‚’ उनले भने । सांसद शाहले मन्त्रीहरूले कहिले सम्पत्ति विवरण सार्वजनिक गर्ने सोच राखेको छ भन्दै प्रश्न गरे ।
‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त ? तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस्‚’ उनले भने ।