NRN
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ ।

राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महास‌ंघसहित सरोकारवालासँग छलफल गरेर पुन:लेखन गर्न माग गरेको छ ।

सोमबार र मंगलबार काभ्रेको धुलिखेलमा बसेको महासंघको पहिलो कार्यमूलक बैठकले सरकारले यही अवस्थामा उक्त विधेयक अघि बढाए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको हो ।

महासंघले राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयकमासमेत आफ्ना सुझावहरू नसमेटेको भन्दै संशोधन गरेर मात्रै पारित गर्न आग्रह गरेको छ ।

महासंघले संघ, प्रदेश र स्थानीय तहबाट समेत कानूनहरू बन्ने क्रममा रहेकामा त्यस्ता कानूनहरू निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारसम्बन्धी व्यवस्था ख्याल गर्न आग्रह गरेको छ ।

पछिल्लो समय प्रेस काउन्सिल नेपालले मिडियालाई कालोसूचीमा राख्ने लगायतका गतिविधि गरिरहेकोमा ध्यानाकर्षण भएको भन्दै महासंघले काउन्सिललाई आफ्नो क्षेत्राधिकारको ख्याल गर्न आग्रह गरेको छ ।

देशभर एकपछि अर्को गरी सञ्चारमाध्यमहरू बन्द भइरहेकोमा सञ्चारमाध्यममा निम्तिएको संकट र बन्द हुनुका कारणहरूमा केन्द्रित भएर मिडियाको स्थिति अध्ययन गर्ने महासंघले जनाएको छ ।

बैठकले तीन वर्षे कार्यकालका लागि अध्यक्ष निर्मला शर्माले पेस गरेको नीतिगत प्रस्ताव, महासचिव रामप्रसाद दाहालले पेस गरेको सांगठनिक प्रस्ताव तथा कोषाध्यक्ष रामकृष्ण अधिकारीले पेस गरेको आर्थिक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update