NRN
नेपाल र भारत पञ्चेश्वरको डीपीआर छिटो बनाउन सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबीच भेटवार्ता भएको छ ।

'इण्डिया इनर्जी विक–२०२५' मा भाग लिन भारत गएका मन्त्री खड्का र भारतीय मन्त्री पाटिलबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको हो ।

त्यस्तै, टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रूप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको उल्लेख छ । 

बाढी र डुवान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औं बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको हो ।

यसैगरी सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । 

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update