
नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता डा. टिकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।
नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा अनियमितता भएको भनिए पनि तत्कालीन अध्यक्ष रिता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा छानबिन सुरु गरिएको आयोगले जनाएको छ ।
आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचार समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनकै पूर्व पदाधिकारीविरुद्ध ठगी मुद्दामा जाहेरी परेको थियो ।