
केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
त्यसअघि दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने छ ।
उद्घाटन सत्रमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतको प्रस्तुति रहने छ । पहिलो खेल उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच हुनेछ ।
प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम एनआरटी, संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले सहभागिता जनाउने छन् ।
पहिलो सेमिफाइनल फागुन १६ र दोस्रो सेमिफाइनल फागुन १७ गते हुनेछ । फाइनल खेल फागुन १९ गते हुने तालिका छ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।
युवा संघले प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार १११ नगद पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले ५ लाख पाउने छ ।