
मोटरसाइकल दुर्घटना भएर त्रिशूलीमा खसेका युवक ९ दिनपछि मृत भेटिएका छन् ।
फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट त्रिशूलीमा खसेका लमजुङको चन्द्रेश्वर घर भएका चितवनको भरतपुर महानगरपालिका-१ रामनगरका २७ वर्षीय रोहित राना आइतबार बिहान मृत फेला परेका हुन् ।
शव मोटरसाइकल दुर्घटना भएर उनी खसेको स्थानभन्दा एक सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।
शव भेटिएपछि पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको छ । रोहितका परिवारले शव सनाखत गरिसकेका छन् ।
उनी सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । मोटरसाइकल सडकमै अडिएको थियो भने उनी त्रिशूलीमा खसेका थिए ।
खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरसहित टोली परिचालन गरिएको थियो । दुर्घटनास्थलबाट प्रहरीले भारतीय सेनाको कार्ड र नागरिकता फेला पारेको थियो ।