
प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि कम आवेदन परेको भन्दै छिटो आवेदन दिन आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाट लेख्दै उनले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन कम परेको बताएका हुन् ।
आवेदन खुलाइएकोमा आवश्यक सङ्ख्या नपुगेका कारण अन्डरग्रेजुएट एमबीबीएस १ जना, पोस्ट ग्रेजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको बताएका हुन् ।
‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार चीन सरकारले विभिन्न ७१ सिटका लागि नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । ती मध्ये ५१ सिटमा फुलफिल भएका छन् । बाँकी २० सिटमा आवेदन दिएरपनि अनलाइन फारम नभर्दा खाली भएको थियो ।
शिक्षा मन्त्रालयले बाँकी रहेका २० सिटका लागि पुनः आवेदन दिनका लागि माग गरेको थियो । तर, चीन सरकारले ढिला भइसकेकाले थप आवेदन लिन नसकिने प्रस्ट पारेको थियो । प्रधानमन्त्री ओलीले तिनै सिटका लागि आवेदन माग गर्दै पोस्ट गरेका हुन् ।
चीन सरकारले शैक्षिक वर्ष २०२५÷२६ का लागि ७१ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भन्दै नेपाल सरकारलाई पत्राचार गरेको थियो ।
सोही आधारमा शिक्षा मन्त्रालय अन्तर्गत छात्रवृत्ति शाखाले २०८१ पुस ७ गते आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान गरेसँगै तोकिएको सिट अनुसार नै आवेदन परेर मन्त्रालयले छनौट समेत गरेको थियो ।