
मंगलबार सेयर बजारको परिसूचक नेप्से बढेको छ । नेप्से ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा बन्द भएको छ ।
बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन अर्थात सोमबार ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १८ करोड रूपैयाँ कमी आएको हो ।
मंगलबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको हो ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.९० प्रतिशतले बढेको छ । यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशतले घटेको छ ।