NRN
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठक अध्यादेशबारे छलफलका लागि यही फागुन १८, १९ र २० गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने तय भएको छ ।

सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ति अध्यादेशमा रहेका विषयवस्तुबारे जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो । अध्ययनको आधारमा जसपा नेपालको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने निर्णय गरेको छ ।

भूमि सम्बन्धी अध्यादेश फिर्ता लिए बाँकी पाँच वटा अध्यादेश अगाडि बढाउने सम्बन्धमा सकारात्मक हुने जसपा नेपालका नेताहरू बताउँछन् । जसपा नेपालको यो सर्तले सरकारले कुनै पनि अध्यादेश संसदीय प्रक्रियामा अगाडि बढाउन सकिरहेको छैन ।

यही बेला जसपा नेपालले केन्द्रीय समितिको बैठक नै राखेर अध्यादेशबारे थप छलफल गर्न लागेको हो । केन्द्रीय समितिको बैठकमा अध्यादेशका अलावा सामसामयिक राजनीतिबारे समेत छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update