
केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनल अघिका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइएको थियो ।
केपी ओली कप फुटबल च्याम्पियनसिपको बाँकी रहेको सेमिफाइनल र फाइनल खेल अब त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
आर्मीले पुलिस तथा संकटाले एपीएफ क्लबलाई हराएर सेमिफाइनलमा स्थान बनाएका थिए । दोस्रो सेमिफाइनल खेलमा शनिबार केपी एफसी र मच्छिन्द्र एफसी खेल्ने छन् ।
फागुन १९ गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।