
सर्लाहीको बरहथवा नगरपालिकास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सो विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बुढाथोकीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट जारी भएको नक्कली प्रवीणता प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको हो ।
उनले रौतहटको महेन्द्र माध्यमिक विद्यालय, चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतीय पदका लागि नक्कली प्रमाणपत्र प्रयोग गरी राष्ट्रसेवकको ओहदा, लाभ र सुविधा लिएको पाइएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार बुढाथोकीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित ऐनको दफा १६ को उपदफा (१) अन्तर्गत कारबाहीको माग गरिएको छ ।