
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुर्याउन आफूले सम्पर्क गर्न खोजेको भएपनि स्वास्थ्यमा समस्या आएर प्रचण्ड सम्पर्कमा आउन नसकेको बताए ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु तर मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्य केही समस्या भएको सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु । उहाँसँग सम्पर्क हुनासाथ काम अगाडि बढाइनेछ ।’
प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गरे । माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।