
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्ने र झुट फैलाउन सक्रिय रहेको बताएका छन् ।
आज (मंगलबार) ललितपुरको कुपण्डोलमा प्रगतिशील इन्जिनियरिङ एशोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्ना विषय र काममा केन्द्रित भइरहेको बताएका हुन् ।
‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन्, त्यो स्वाभाविक पनि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘विरोधीहरू लाग्छन्, यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन । कसरी सरकार वा आफू बाहेकलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न र झुटलाई फैलाउन सकिन्छ भन्ने कुरामा उहाँहरू बहुत नै सक्रिय देखिनुहुन्छ ।’
अनावश्यक कुरामा अलमल्याउन खोज्ने र विषयबाट ध्यान मोड्न खोजे पनि त्यसका लागि आफूहरू तयार नरहेको उनले बताए ।
विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए ।