
कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गराैं, अवस्था बदल्न व्यवस्था बदलौं, सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ ‘लोडशेडिङ चाहिँदैन, उज्यालो नेपाल जिन्दावाद, मन्त्रिपरिषद्को निर्णय खारेज गर’ लगायतका नारा लगाएका थिए ।
माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । स्वतन्त्र युवाहरुको प्रदर्शनमा बिभिन्न दलका नेताहरु पुगेर ऐकवद्धता जनाएका थिए ।
हिजो(सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । २०७८ साल साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाई सरकारले हटाएकाे हो । कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ । अबको ४ महिनापछि घिसिङको कार्यकाल सकिँदै थियो ।
सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।