
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए ।
तर प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन् । प्रधानमन्त्री सत्ता गठबन्धन बैठकमा बालुवाटारमा थिए ।
बुधबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए ।
सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।